

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले पहिलो खेल हङकङविरुद्ध खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा टोलीहरू डबल राउन्ड रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्। समूहको शीर्ष स्थानमा रहने टोली मात्र सुपर राउण्डमा प्रवेश गर्नेछ।
यस छनोट प्रतियोगितामा कुल ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोली सुपर राउण्डमा पुग्नेछ। सुपर राउण्ड लिग खेलमार्फत शीर्ष दुई टोलीले आगामी ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।
मे ९ देखि २० तारिखसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार, यूएई र आयोजक थाइल्यान्ड सहभागी हुनेछन्।
हाल भारतमा अभ्यासमा रहेको नेपाली महिला टोली थाइल्यान्डतर्फ त्यहीँबाट प्रस्थान गर्ने क्यानले जनाएको छ।