

मुम्बई । ‘स्त्री २’ बाट कीर्तिमानी कमाई गरेकी बलिउड अभिनेत्री श्रद्धा कपुर अब निर्माता एकता कपुरको नयाँ फिल्ममा देखिने भएकी छिन्।
भारतीय मिडिया बलिउड हंगामाका अनुसार श्रद्धाले यो प्रोजेक्टका लागि १७ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन्, जुन हालसम्म भारतीय चलचित्र क्षेत्रमा कुनै पनि महिला कलाकारले पाएको सबैभन्दा ठूलो पारिश्रमिक हो।
पारिश्रमिकबाहेक श्रद्धाले फिल्मको नाफाबाट पनि प्रतिशत मागेकी छन्। फिल्म रिलिजपछि उनले निश्चित हिस्सा पाउने छिन्।
हालसम्म फिल्मको नाम सार्वजनिक गरिएको छैन तर यो चलचित्र प्रि-प्रोडक्सन चरणमा रहेको र वर्षको मध्यदेखि सुटिङ सुरु हुने बताइएको छ।
‘स्त्री २’मा उनले ५ करोड लिएकी थिइन् भने यो नयाँ प्रोजेक्टमा पारिश्रमिक एकैपटक १२ करोडले बढाएर १७ करोड पुर्याएकी हुन्। साथै श्रद्धा कपुर ‘स्त्रीः ३’ मा पनि काम गर्दैछिन्, जुन सन् २०२७ को अगस्टमा रिलिज हुने तयारीमा छ।
श्रद्धा कपुरले ‘तीन पत्ती’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। उनले ‘आशिकी २’, ‘एक भिलेन’, ‘छिछोरे’, ‘साहो’, ‘बागी’ लगायतका सफल फिल्महरूमा अभिनय गरिसकेकी छिन्।