

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–पिप्लामोड सडक सुधार तथा निर्माण कार्यका लागि नागढुंगा–नौबिसे सडकखण्ड आज रातिदेखि असार ३१ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म आंशिक रूपमा बन्द गरिने भएको छ।
नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार यस अवधिमा सवारीसाधनको आवागमन रोक्दै निर्माण कार्य अघि बढाइनेछ। काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुंगा चेकपोस्टमा तथा नौबिसेबाट राजधानी भित्रिन खोज्ने सवारी खत्रपौवा पुलमा रोकिनेछ।
यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। रोकिएका सबै सवारीसाधनहरू बिहान ३ बजेपछि मात्रै चल्न दिइने जनाइएको छ।