‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा हो, कुनै एक दलको मात्र नारा होइन : एमाले

‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा हो, कुनै एक दलको मात्र नारा होइन : एमाले

काठमाडौं । सत्तारुढ नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा कुनै एक राजनीतिक दलको मात्रै नभई राष्ट्रिय आकांक्षा र साझा सपना भएको स्पष्ट पारेको छ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सो नारा राष्ट्रिय विकासका साझा लक्ष्यका रूपमा अंगिकार गरिएको बताएका हुन्।

उनको भनाइ कांग्रेस सांसद जीवन परियारले शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा समावेश ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराप्रति आपत्ति जनाएपछि आएको हो। परियारले कांग्रेसको ‘सम्मुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारा नसमेटिएको भन्दै असन्तुष्टि जनाएका थिए।

ज्ञवालीले जवाफमा भने, “यो नारा एमालेको घोषणापत्रमा पहिला समेटिएको भए पनि अहिले यसको प्रयोग पन्ध्रौं र सोह्रौं पञ्चवर्षीय योजनामा दीर्घकालीन राष्ट्रिय भिजनको रूपमा गरिएको छ। प्रमुख राजनीतिक दलहरू सरकारमा हुँदा नै यो योजना अघि बढेको हो।”

उनले थपे, “यसलाई कुनै दल विशेषको नारा भन्नु उपयुक्त हुँदैन। यो समृद्ध नेपाल बनाउने सबैको साझा संकल्प हो।”