लगातारको वर्षाले दाउन्ने र कान्तिलोकपथ सडक पूर्ण अवरुद्ध

लगातारको वर्षाले दाउन्ने र कान्तिलोकपथ सडक पूर्ण अवरुद्ध

काठमाडौं: लगातारको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार रातिदेखि भएको अबिरल वर्षाले सडक हिलाम्मे र चिप्लो बनेपछि यातायात अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार, दाउन्ने खण्डमा सडकको अवस्था अत्यन्तै बिग्रिएको हुँदा सवारी सञ्चालन असम्भव भएको हो। सडक विस्तारका कारण पनि उक्त खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने समस्या रहेको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सडक विस्तारकै क्रममा दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक नियमित रूपमा बन्द गरिँदै आएको भए पनि हालको वर्षाले बन्द समय बाहिर पनि सडक सञ्चालनमा अवरोध आएको हो।

उता, बागमती नदीमा आएको बाढीले काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथको डाइभर्सन बगाउँदा उक्त मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको डाइभर्सन बगाएपछि आइतबार बिहान ६ बजेदेखि नै सवारी आवागमन ठप्प भएको हो।

मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार, अहिले प्रहरी टोली अवरुद्ध सडक खुलाउन खटिएको छ।