

हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिले अझै जनताको सामाजिक तथा आर्थिक जीवनमा पर्याप्त रूपान्तरण गर्न नसकेको धारणा राखेकी छन्।
शनिबार मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान कार्यक्रममा बोल्दै उनले राजनीतिले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी काम गर्नुपर्नेमा जोड दिइन्।
उनले जननेता मदन भण्डारीको विचारलाई आत्मसात् गर्दै सामाजिक र आर्थिक व्यवस्थाको सकारात्मक रूपान्तरणलाई मुख्य लक्ष्य बनाउँदै अघि बढ्नुपर्ने धारणा राखिन्।
भण्डारीका अनुसार जनताको बहुदलीय जनवाद नेपाली समाजको मौलिक राजनीतिक सिद्धान्त हो, जसले लोकतान्त्रिक प्रतिस्पर्धामार्फत समाजवादतर्फको मार्ग देखाएको छ।
कार्यक्रममा समाजसेवी शुभद्रा रेग्मीलाई श्रीचन्द्र शर्मा स्मृति पुरस्कार–२०८२ प्रदान गरियो। उनले उक्त पुरस्कारबाट प्राप्त १५ हजार रुपैयाँ ‘मामाघर नेपाल’लाई हस्तान्तरण गरेकी हुन्, जसले अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ।