नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ।

शनिबार बसेको संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता झल्किने धेरै विषय समेटिएकाले कांग्रेसले त्यसको पक्षमा उभिने निर्णय गरेको जानकारी दिए।

“हामीले पनि चाहेका धेरै विषयहरू नीति तथा कार्यक्रममा समावेश गरिएका छन्,” घिमिरेले भने, “त्यसैले रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने र संसदमा पक्षमा बोलेर अघि बढाउने निर्णय भएको छ।”

साथै, कांग्रेसले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने गरी बजेट निर्माण हुनुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकमा संसद्मा विधेयक निर्माण प्रक्रियामा गति नआएकोप्रति चिन्ता व्यक्त गरिएको घिमिरेले बताए। “विधेयक निर्माण सुस्त छ, त्यसको प्रभाव व्यापक छ,” उनले भने, “अब कांग्रेसले त्यसलाई तीव्र बनाउन निर्णायक भूमिका खेल्ने निष्कर्ष निकालिएको छ।”