समाजवादको आधार तयार पारेर मात्र दुनियाँबाट बिदा हुनेछु : प्रचण्ड

समाजवादको आधार तयार पारेर मात्र दुनियाँबाट बिदा हुनेछु : प्रचण्ड

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पारिसकेपछि मात्र जीवनबाट बिदा लिने संकल्प दोहोर्‍याएका छन्।

दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले आफू अझै नयाँ क्रान्तिको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। “७१ वर्ष पुगिसकेको छु, तर नयाँ क्रान्तिको नेतृत्व गर्ने अठोट छ,” उनले भने, “समाजवादको जग बसालेर मात्र यो दुनियाँबाट बिदा हुनेछु।”

पछिल्लो ‘तराई–मधेश जागरण अभियान’ले पार्टीमा उत्साह थपेको उल्लेख गर्दै उनले पार्टी पंक्तिलाई संगठन निर्माण र विस्तारमा लाग्न निर्देशन दिए। “सुशासन, सामाजिक न्याय र आर्थिक समानताका लागि दृढ संकल्पसहित अघि बढ्नुपर्छ,” उनले भने।

प्रचण्डले उक्त अभियानले अपेक्षाभन्दा धेरै उपलब्धि दिएको भन्दै करिब एक करोड जनतासँग संवाद गरिएको दाबी गरे। “हामी तराई–मधेशदेखि कञ्चनपुरसम्म पुग्यौं, यो अभियान माओवादी केन्द्रको मात्रै नभई राष्ट्रिय अभियान बन्यो,” उनले बताए।

भ्रष्टाचारविरुद्धको अभियान र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा आफू नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दाबी गर्दै प्रचण्डले पार्टीलाई अझ सशक्त बनाउने योजनामा प्रतिबद्धता दोहोर्‍याए।