

काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै संसद अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक पारित गरिने स्पष्ट पारेका हुन्।
हाल यो विधेयक प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ। समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा गठन गरिएको उपसमितिबाट दफावार छलफल गरी प्रतिवेदन बुझाइसकेको छ।
तर, ‘कुलिङ पिरियड’ (सरकारी सेवाबाट राजनीतिमा जानको लागि आवश्यक समयावधि) एक वर्ष हुने कि दुई वर्ष भन्ने विषयमा मतभेद देखिएकाले समितिबाट विधेयक पारित भइसकेको छैन।
सरकारको नीति तथा कार्यक्रममा यस विधेयकलाई यही अधिवेशनमै टुंग्याउने प्रतिबद्धता व्यक्त गरिएकाले अब छिट्टै टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।