

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको आन्दोलनबाट विस्थापित निरङ्कुश राजतन्त्र पुनःस्थापित गर्ने सपना देख्ने अराजक र असहिष्णु प्रवृत्तिहरूको विरुद्धमा मजदुर वर्गलाई सचेत रहन आह्वान गरेका छन्।
बिहीबार १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति र लोकतन्त्रविरोधी गतिविधि बढ्दै गएको भन्दै मजदुरहरूलाई खबरदारी गर्न आग्रह गरे।
“चैत १५ मा देखिएको तीनकुनेको हिंसात्मक घटना राजतन्त्रवादी प्रवृत्तिको अराजकतापूर्ण उदाहरण हो,” उनले भने, “उनीहरू कलाकारको अभिव्यक्ति असह्य भएर फिल्म बहिष्कार गर्छन्, प्रहरीमाथि गाडी चलाउँछन्। शासन उनीहरूको हातमा परे के गर्लान् भन्ने कल्पना मात्रै गरेर पनि डर लाग्छ।”
प्रधानमन्त्री ओलीले श्रमजीवी वर्गले विगतमा जस्तै वर्तमान चुनौतीहरूमा पनि एकता प्रदर्शन गर्नुपर्ने उल्लेख गरे। “हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर अघि बढिरहेका छौँ। हाम्रो झन्डा सजावटका लागि रातो भएको होइन, मजदुरहरूको रगतले रंगिएको हो,” उनले जोड दिए।
उनले लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने जिम्मा मजदुर वर्गमै रहेको दोहोर्याउँदै संघर्षको इतिहास बोकेको रातो झन्डालाई कहिल्यै नत्याग्ने अठोट व्यक्त गरे।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतले पनि श्रमिक दिवसका सन्दर्भमा आफ्ना मन्तव्य राखेका थिए।