सरकारसँगको सहमति सार्वजनिक गर्न आयोजित कार्यक्रममा विद्यालय कर्मचारीको विरोध

सरकारसँगको सहमति सार्वजनिक गर्न आयोजित कार्यक्रममा विद्यालय कर्मचारीको विरोध

काठमाडौं: सरकार र शिक्षक महासंघबीच भएको सहमति सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले कडा असन्तुष्टि जनाएका छन्। बिहीबार काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा उनीहरूले आफ्ना माग समावेश नभएको भन्दै विरोध प्रकट गरे।

गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले बुधबार सरकारसँग ९ बुँदे सहमति गरेपछि त्यसको जानकारी दिन कार्यक्रम आयोजना गरिएको थियो। तर, सहमति पत्रमा विद्यालय कर्मचारीहरूको माग समेटिएको नदेखिएपछि उनीहरूले नेतृत्वमाथि आक्रोश व्यक्त गरे।

विरोध चर्किएपछि कार्यक्रममा होहल्ला सुरु भयो र अवस्था अशान्त बन्दा सञ्चारकर्मीहरूलाई समेत कार्यक्रम स्थलबाट बाहिरिन अनुरोध गरिएको थियो।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले विद्यालय कर्मचारीहरू आफ्ना माग नपरेको भन्दै असन्तुष्ट भएको पुष्टि गर्दै कार्यक्रमको उद्देश्य आन्दोलनको उपलब्धिबारे जानकारी र बधाई दिनु मात्रै भएको स्पष्ट पारिन्।