

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हालको सरकारले संविधान संशोधनलाई प्राथमिकतामा नराखेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्ने भन्दै गठबन्धन बने पनि त्यो एजेन्डा पछि परेको टिप्पणी गरे।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सहमतिमा बनेको सरकार संविधान संशोधनको प्रतिबद्धता जनाएर सत्तामा पुगे पनि सो विषयमा कुनै ठोस पहल नगरेको उल्लेख गरे। “सरकारले ०८७ मा संविधान संशोधन गर्ने भनिएको थियो, तर अहिले त्यो विषयबाट पन्छिएको देखिन्छ,” उनले भने।
संविधान लागू भएको १० वर्षपछि यसको कार्यान्वयन र समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए। जनताका मौलिक हक–अधिकार संविधानमा उल्लेख भए पनि व्यवहारमा लागू गर्न सरकार गम्भीर नभएको उनको आरोप थियो।
उनले भने, “संविधान लेखेर मात्र पुग्दैन, व्यवहारमा कसरी लागू गर्ने भन्नेमा गहिरो चिन्तन र बहस आवश्यक छ, तर आज सत्ता राजनीतिमा मात्र ध्यान केन्द्रित गरिएको देखिन्छ।”
राजसंस्था फर्कने सम्भावना छैन
अध्यक्ष नेपालले मुलुकमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारे। इतिहासमा हराइसकेको राजसंस्थाको पुनरागमनको सपना देख्नु व्यर्थ भएको उनको भनाइ थियो।
उनले हालै केही समूहले राजसंस्थाको पक्षमा गरेको आन्दोलन हिंसात्मक भएको भन्दै त्यसले उनीहरूको वास्तविक रूप देखाएको आरोप लगाए। “पार्टी कार्यालयमा आगजनी, पसलमा तोडफोड, निजी घरमा आक्रमण—यिनले के शासन गर्ने ?” भन्दै उनले आन्दोलनकारीहरूलाई आलोचना गरे।
त्यसै दिन समाजवादी मोर्चाले शालीन र अनुशासित कार्यक्रम गरेको उदाहरण दिँदै उनले सकारात्मक राजनीतिक संस्कारको अभ्यास आवश्यक रहेको बताए।
अन्त्यमा अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनताको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिए।