सरकारसँग सहमति भएपछि शिक्षक महासंघकाे आन्दोलन स्थगित

सरकारसँग सहमति भएपछि शिक्षक महासंघकाे आन्दोलन स्थगित

काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारसँग सहमति जुटेपछि चलिरहेको आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। बुधबार जारी विज्ञप्तिमार्फत महासंघले सरकारसँग भएका सहमति र प्रतिबद्धताका आधारमा आन्दोलन रोक्ने निर्णय लिएको जानकारी दिएको हो।

महासंघले २०८१ माघ २० देखि देशभर आन्दोलन गर्दै आएको थियो भने २०८१ चैत २० देखि काठमाडौं केन्द्रित आमसङ्घर्षमा उत्रिएको थियो।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तारुढ दलका प्रमुख सचेतकले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आगामी असार १५ भित्र संसदबाट पारित गर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको हो।

महासंघले मन्त्रिपरिषद्बाट सम्बोधन हुने मागहरूमध्ये केही मागमा निर्णय भइसकेको भन्दै आजैको मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ।

साथै महासंघले सबै शिक्षकहरूलाई विद्यालय भर्ना, कक्षा सञ्चालन र परीक्षा सम्बन्धी कार्य पुनः सुरु गर्न अनुरोध गरेको छ। यद्यपि, तोकिएको समयमा शिक्षा ऐन जारी नभएमा अहिलेभन्दा कडा आन्दोलनमा जानुपर्ने चेतावनी महासंघले दिएको छ।