

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध दायर भएको अदालत अवहेलना सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ।
कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मुद्दा हेर्न राखिएको हो।
थापाविरुद्ध गएको आइतबार अदालतको अवहेलनाको आरोपमा कारबाही माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले निवेदन दर्ता गराएका थिए।
महामन्त्री थापाले लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतको आलोचना गर्दै ‘अदालतले डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
उनको उक्त अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पुगेको भन्दै कारबाही माग गरिएको हो।
थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ढिलाइ गरेको आरोप लगाउँदै भनेका थिए, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विषयलाई दुई–तीन वर्षदेखि झुलाइराखिएको छ, जसले अदालतप्रतिको विश्वासमा प्रश्न उठाएको छ।”