

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि पेश गर्नेछन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि प्रस्तुत गर्नेछन्।
त्यसैगरी, मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।