काठमाडौं । देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। सोमबारको तुलनामा आज केही कम मात्रामा वर्षा हुने अपेक्षा गरिएको छ।
मौसमविद् गोविन्द झाले भने, “बंगालको खाडीबाट आएको हावामा जलवाष्प केही कम भएकोले आज सोमबारको तुलनामा कम वर्षा हुनेछ। तर, स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले ठाउँठाउँमा वर्षा हुने सम्भावना छ।”
काठमाडौं उपत्यकामा पनि आज दिउँसोपछि बदली हुने र अपराह्न २ बजेदेखि ६ बजेसम्म मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने उनले जानकारी दिए।
भोलि भने आजको तुलनामा काठमाडौंमा ठूलो वर्षा हुने अनुमान गरिएको छ। बंगालको खाडीबाट आउने वायुमा भोलि बढी जलवाष्प रहने भएकाले वर्षा दर वृद्धि हुने बताइएको छ।
हालसम्म पूर्व र मध्य तराईमा केन्द्रित वर्षा भोलिबाट पश्चिम नेपालसम्म फैलिनेछ। मौसमविद् झाका अनुसार भोलिदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा सुरु हुनेछ।
आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
वर्तमानमा नेपालमा पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको विभागले जनाएको छ।