शिक्षकहरूको आन्दोलनमा पुगेका समाजवादी नेताहरूलाई नाराबाजी गर्दै प्रदर्शनस्थलबाट फर्काइयो

शिक्षकहरूको आन्दोलनमा पुगेका समाजवादी नेताहरूलाई नाराबाजी गर्दै प्रदर्शनस्थलबाट फर्काइयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला आन्दोलनरत शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै प्रदर्शनस्थलबाट फर्काएका छन्।

सोमबार नयाँ बानेश्वरमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू पुगेका थिए। तर शिक्षकहरूले ‘यहाँ नआउन’ भन्दै माइकिङ गर्दै उनीहरूलाई विरोध जनाए। शिक्षकहरूले नेताहरूलाई संसदमा आवाज उठाउन आग्रह गर्दै प्रदर्शनस्थल छोड्न दबाब दिएपछि नेताहरू त्यहाँबाट बाहिरिएका थिए।

बाहिरिँदै गर्दा अध्यक्ष नेपालले छोटकरीमा प्रतिक्रिया दिँदै भने, “अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ।”

शिक्षकहरूले गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्।