काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले, आर्थिक वर्ष २०८२/०८३ को बजेटमा निजी क्षेत्रले उठाएका सवालहरू समेटिने बताएका हुन्।
उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै, निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैँ तत्पर रहेको स्पष्ट पारे।
“निजी क्षेत्र र सरकारबीच सुदृढ कार्यसम्बन्ध भयो भने अर्थतन्त्र थप बलियो बन्छ,” देउवाले भने।
उनले सरकार व्यापार र उद्योग सञ्चालन गर्ने निकाय नभएको स्पष्ट गर्दै भने, “व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले होइन।”