

काठमाडौं । नेपाली कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको संसद्ीय अभिव्यक्तिलाई कपोलकल्पित र भ्रामक भएको भन्दै आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै, २०८१ चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता भएको भन्ने लिङ्देनको दाबीलाई असत्य र आधारहीन भनेका छन्।
विश्वकर्माका अनुसार आरोपित व्यक्ति सो दिन नेपालमै नरहेका थिए र लिङ्देनले आफ्ना कार्यकर्ताको अवाञ्छित गतिविधि ढाकछोप गर्न अर्कामाथि दोष थोपर्ने प्रयास गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “राजनीतिक अभीष्ट पूरा गर्न अर्काको प्रतिष्ठा र सम्मानित संसद्को गरिमा ख्याल नगरी भ्रमपूर्ण अभिव्यक्ति दिनु निन्दनीय छ। अध्यक्ष लिङ्देनले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउन ध्यान दिनुपर्छ।”
कांग्रेसले यस्ता भ्रामक अभिव्यक्तिबाट सचेत रहन सबैलाई आग्रह समेत गरेको छ।