

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठ महिनाभित्रै मेलम्चीको खानेपानी वितरण गरिने भएको छ।
खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार मन्त्रालय, आयोग, निकाय र कार्यालयहरूमा मेलम्चीको पानी जडान गर्ने कार्य सुरु भइसकेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई यसका लागि निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको उनले जानकारी दिइन्।
खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारभित्र अब खानेपानीका बोतल र जार निषेध गरिने घोषणा गरेका छन्। मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई. मीना श्रेष्ठले मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र गतिमा अगाडि बढिरहेको बताइन्।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख अशोककुमार पौडेलका अनुसार मेलम्चीबाट आउने पानी शुद्ध र पिउन योग्य छ। उनले चाँडै सिंहदरबारभित्र मेलम्चीको पानी सहज रूपमा उपलब्ध गराइने बताए।