रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई ७ दिन थप हिरासतमा राख्ने अदालतको आदेश

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई ७ दिन थप हिरासतमा राख्ने अदालतको आदेश

काठमाडौं। जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जनालाई जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले थप हिरासत अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

सरकारी वकिलले २० दिन हिरासत माग गरे पनि अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको बयान जारी रहेको उल्लेख गर्दै प्रमाण अभावमा तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो। तर, प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै पुनः म्याद थप माग गरेपछि अदालतले ७ दिनको म्याद थप गरेको हो।

इजलासमा मिश्रले आफू आवेगमा आएको स्वीकार गरे पनि ढुंगामुढा वा तोडफोड नगरेको दाबी गरेका छन्। प्रसाईंविरुद्ध कर्तव्य ज्यान प्रयास, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहका अभियोग लगाइएको छ भने मिश्रलाई राजद्रोह र संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ।

यसअघि पक्राउ परेका सांसद धवलशमशेर राणालाई स्वास्थ्य समस्या देखाउँदै प्रहरीले एक साताअघि रिहा गरेको थियो।