

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप लगाउनेहरुलाई प्रमाणित गर्न चुनौती दिएका छन्।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा षड्यन्त्र र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको आरोप लगाए। उनले भने, “देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो। स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला झुठा आरोप लगाउन थालिएको छ।”
उनले विरोधी पक्षको झुठो आरोपको खण्डन गर्दै सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्। “आजकल निलो रंगका स्यालहरु हाउभाउ गरिरहेका छन्, तर तिनीहरूको वास्तविक रुप लामो समय टिक्ने छैन,” उनले भने। प्रधानमन्त्री ओलीले थपे, “हामीले देश बर्बाद बनाइरहेका छौँ भन्ने आरोप लगाइरहेका छन्, जबकि हामीले ठोस काम गर्दैछौं।”
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुममा बिचौलियाको पहुँच भएको आरोप लगाएपछि ओलीले ती आरोपहरूको खण्डन गर्दै जवाफ दिएका छन्।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्ने भ्रम फैलाउनेहरुलाई भ्रम टुटेको टिप्पणी गरे।
उनी पार्टीभित्र एकता कायम राख्न आवश्यक भएको भन्दै भने, “विरोधीको आरोपको खण्डन गर्नुपर्छ। विरोधीसँग लड्न नसक्ने बाटो सही बाटो होइन।”