आगामी आर्थिक वर्षका लागि सरकारले सन्तुलित नीति तथा कार्यक्रम र बजेट ल्याउँछ : प्रधानमन्त्री

आगामी आर्थिक वर्षका लागि सरकारले सन्तुलित नीति तथा कार्यक्रम र बजेट ल्याउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेट तयार हुँदै गएको बताएका छन्।

शनिबार नेकपा (एमाले) संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दल मिलेर अघि बढेको उल्लेख गरे। उनले संसद्को बजेट अधिवेशनमा सांसदहरूलाई मर्यादित, तथ्यपूर्ण र साहसी रूपमा जनताका समस्याहरू उठाउन निर्देशनसमेत दिए।

प्रतिगमनकारी शक्तिहरूको हिंसात्मक गतिविधि प्रति कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिंदै उनले आवश्यकता परेमा कानुनअनुसार कडा कदम चाल्न सरकार तयार रहेको संकेत गरे।

ओलीले एमसीसी सम्झौता अमेरिकाबाट बन्द भएको प्रसंग उल्लेख गर्दै अब नेपालले आफ्नो विकास आफैंले अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरे।