शिक्षामन्त्रीसँगको भेटअघि नै शिक्षक महासंघको टोली बीचबाटै फर्कियो

शिक्षामन्त्रीसँगको भेटअघि नै शिक्षक महासंघको टोली बीचबाटै फर्कियो

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि गएका शिक्षक महासंघका प्रतिनिधि टोली मन्त्रालय प्रवेश नगरी बीचबाटै फर्किएको छ।

शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ जाँदै गरेका महासंघका पदाधिकारीहरू विशेष कारणवश फर्किएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं। तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं,’ सुवेदीले लेखेका छन्। तर उनले स्पष्ट कारण भने खुलाएका छैनन्।

साथै, सुवेदीले मन्त्रालयबाट जारी २५ सदस्यीय प्रतिनिधिमण्डलको सूचीबारे महासंघलाई जानकारी नभएको बताएका छन्। उक्त नामावली महासंघले तयार नगरेको पनि उनले स्पष्ट पारेका छन्।