

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल प्लेटफर्म मेटालाई नेपालमा ७ दिनभित्र अनिवार्य दर्ता हुन अन्तिम चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मेटालाई पटक–पटक सूचना जारी गरेर आग्रह गर्दा पनि अटेर गरेको भन्दै अब कडा कदम चालिने स्पष्ट पारे।
“अब ७ दिनको समय मात्रै छ,” उनले भने, “त्यसपछि मेटालाई नेपालमा प्रतिबन्ध लगाइनेछ।” उनले मेटाले नेपालबाट प्रतिघण्टा हजारौं रुपैयाँ कमाइरहेकाले यहाँ दर्ता भई कर तिर्नु अनिवार्य भएको जिकिर गरे। “नेपालमा सबैभन्दा धेरै प्रयोग हुने फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट ठूलो आम्दानी गरिरहेको मेटाले यहाँको कानुन पालना गर्नुपर्छ,” मन्त्री गुरूङले चेतावनी दिँदै भने।
मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा बढी आम्दानी हुने घमण्ड देखाएको भन्दै उनले मुलुकको स्वाधीनता कुनै कम्पनीको पैसासँग जोड्न नमिल्ने स्पष्ट पारे।
उनका अनुसार हालसम्म टिकटक, भाइबर र वी–टक मात्र नेपालमा औपचारिक रूपमा दर्ता भएका छन्। बाँकी विदेशी डिजिटल प्लेटफर्मलाई समेत कानुनी दायरामा ल्याउने तयारी सरकारको रहेको छ।