

तस्विर: धादिङका सुकराम तामाङले खिचेकाे दृश्य ।
नुवाकाेट, २३ भदाै । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको थप उपचारका लागि मेडिसिटी अस्पताल काठमाडौं ल्याइएकाे छ । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि चिकित्सकले आनीलाई काठमाडौं ल्याएका हुन् । उक्त दुर्घटनामा चालक सहित ७ जना रहेकाेमा अानी बाहेक अन्य ६ जनाकाे मृत्यु भइसकेकाे छ।
हेलिकप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।