नेपालसहित चार देशमा एमसीसी परियोजनाको निरन्तरता, अन्य देशका योजना बन्द

नेपालसहित चार देशमा एमसीसी परियोजनाको निरन्तरता, अन्य देशका योजना बन्द

काठमाडौँ । अमेरिकाले विश्वभरका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामध्ये नेपालसहित चार देशका योजना निरन्तर अघि बढाउने निर्णय गरेको छ। अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिसपछि उक्त निर्णय लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपालसँगै मंगोलिया, सेनेगल र आइभरी कोष्टका परियोजनाले निरन्तरता पाउने पक्का भएको हो। रोयटर्सका अनुसार नेपाल र सेनेगलमा प्रसारण लाइन निर्माण, मंगोलियामा फोहोर पानी प्रशोधन र आइभरी कोष्टमा विद्यालय निर्माणसँग सम्बन्धित परियोजना अघि बढ्नेछ।

हाल नेपालमा एमसीसी अनुदानअन्तर्गत ५५० मिलियन डलरको अमेरिकी सहयोग र नेपाल सरकारको समेत लगानीमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम भइरहेको छ।

डजले अन्य देशहरूमा परियोजना स्थगनका लागि पत्र पठाइसकेको भए पनि नेपालले भने यस्तो पत्र प्राप्त गरेको छैन। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार एमसीसी परियोजनाको काम हाल पनि सुचारु रूपमा अगाडि बढिरहेको छ।

‘अहिलेसम्मको भुक्तानी मन्त्रालयले गरिरहेको छ, नयाँ कुनै पत्र आएको छैन,’ प्रवक्ता भण्डारीले जानकारी दिए।