

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेले युवालाई सामाजिक सञ्जालमा उग्र बन्न नभई राष्ट्र निर्माणका लागि प्रेरित गर्ने पार्टी भएको स्पष्ट पारेकी छन्।
लोकतन्त्र दिवसको अवसरमा भृकुटिमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले एमालेप्रतिको आफ्नो विश्वास र समर्थनको कारण खुलेर व्यक्त गरिन्। “एमालेले कसैको घर जलाउन सिकाउँदैन, लुटपाट गर्न युवालाई प्रयोग गर्दैन,” डंगोलले भनिन्, “यसले दश नंग्रा खियाएर राष्ट्रको सेवामा लाग्न सधैं प्रेरणा दिन्छ, त्यसैले मलाई एमाले मन पर्छ।”
उनले सामाजिक सञ्जाललाई आक्रोश फैलाउने माध्यम होइन, सकारात्मक परिवर्तन ल्याउने हतियारका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखिन्। डंगोलले हाल राष्ट्र निर्माणभन्दा पनि स्टन्ट र लोकप्रियता कमाउन केन्द्रित प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाउँदै भनिन्, “स्टन्ट गरेर देश बन्दैन। काम गरेर मात्रै देश बन्छ।”