तातो हावाको लहर चल्न सक्ने सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

तातो हावाको लहर चल्न सक्ने सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम तीव्र रूपमा बढ्दै गएको भन्दै तातो हावाको लहर (हिट वेभ) चल्न सक्ने सम्भावनाबारे सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्ला केही दिनयता विशेषगरी तराईका विभिन्न क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा ३८ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ। “तातो हावाको लहर चल्न सक्छ, त्यसैले सतर्कता आवश्यक छ,” उनले भने।

तातो हावाको लहर अत्यधिक खतरनाक हुने भएकाले सावधानी अनिवार्य रहेको मौसमविद् बताउँछन्। तातो हावा लाग्दा सुरुमा शरीर चिलाउने, बिमिरा देखिने, खटिरा बन्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिन सक्छन्। डिहाइड्रेसन (निर्जलीकरण) को खतरा पनि अत्यधिक हुन्छ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र कमजोर स्वास्थ्य भएका व्यक्तिमा यसको गम्भीर असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन्। तातो हावा लागेका बेला शीतल ठाउँमा बस्ने, प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसोको समयमा काम नगर्ने, र आवश्यक परेमा चिकित्सकको सल्लाह लिनुपर्ने महाशाखाको सुझाव छ।

तातो हावाबाट जोगिन तातो स्थानबाट चिसो ठाउँमा जानु, जीवनजल खुवाउनु, खुट्टा चिसो सतहमा राख्नु, र असर कम नभएमा तुरुन्तै चिकित्सकीय उपचार लिनु उपयुक्त हुने विज्ञहरूको भनाइ छ।

महाशाखाले थप दुई दिन तापक्रम अझै बढ्न सक्ने संकेत दिएको छ। शनिबारसम्म कुनै ठूलो मौसमी प्रणाली सक्रिय नदेखिएको हुँदा सतर्क रहन सबैलाई आग्रह गरिएको छ।