

उद्धारमा गएको अल्टिच्युडकै हेलिकप्टरबाट लिइएको दुर्घटनाग्रस्त हेलिकप्टरको तस्बिर ।
नुवाकाेट, २३ भदाै । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने १ जना महिलालाई जिवितै फेला पारिएको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।