गभर्नर सिफारिस समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईको असन्तुष्टिपूर्ण राजीनामा

गभर्नर सिफारिस समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईको असन्तुष्टिपूर्ण राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्।

चैत ११ गते मन्त्रिपरिषद्ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो। समितिमा भट्टराई पूर्व गभर्नरका हैसियतले र विश्व पौडेल विज्ञ सदस्यका रूपमा रहेका थिए।

भट्टराईले समितिको भूमिका उपेक्षा गरिएको भन्दै समितिमा बसिरहनुको औचित्य नभएको बताएका छन्। उनले गठन भएको एक महिनासम्म समिति बैठक नबसेकोप्रति गम्भीर आपत्ति जनाउँदै आजैदेखि लागू हुने गरी राजीनामा दिएको बताएका छन्।

उनले राजीनामा सन्देश ह्वाट्सएपमार्फत संयोजक पौडेललाई पठाइसकेका छन् भने औपचारिक लिखित राजीनामा अर्थ मन्त्रालयमा बुझाउने तयारी भइरहेको जानकारी गराएका छन्।