तीन दिन लगातार घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

तीन दिन लगातार घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ९.९६ अंकको गिरावट आएको छ, जससँगै सेयर बजार लगातार तीन दिनसम्म ओरालो लागेको छ। आजको गिरावटपछि नेप्से परिसूचक २,६८८ अंकमा झरेको छ।

बजार खुल्दै १३ मिनेटभित्र नेप्से २,७०७ अंकसम्म उक्लिएको थियो, तर त्यो स्तरमा टिक्न सकेन। बजार घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ। अघिल्लो दिन ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोड रुपैयाँमा खुम्चिएको छ।

मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६० को घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो।

सक्तिशाली कम्पनीहरूले “अन्य” समूह उकासे

अन्य समूहमा पर्ने नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बढेसँगै यो समूह २.२१ प्रतिशतले उक्लिएको छ।

यस्तै होटल तथा पर्यटन समूह ०.७९ प्रतिशत र उत्पादनमूलक समूह १.१८ प्रतिशतले बढे।

लगानी, बैंकिङ र बीमा समूह घटे

लगानी समूह सबैभन्दा धेरै १.८७ प्रतिशतले घट्यो। बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, जलविद्युत ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार समूह १.६५ प्रतिशतले घटे।

केही कम्पनीले उच्च वृद्धि, केहीले भारी गिरावट

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। मकर जितुमाया सुरी हाइड्रोपावर ७.४७ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावर ५.३० प्रतिशत र नेपाल पुनर्बीमा ४.८३ प्रतिशतले बढे।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो। ङादी ग्रुप ३.८८ र एचआईडीसीएल ३.७९ प्रतिशतले घटेका छन्।

धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् अग्रस्थानमा रहे।