शिक्षक आन्दोलनलाई धैर्यपूर्वक निरन्तरता दिन प्रचण्डको अपिल

शिक्षक आन्दोलनलाई धैर्यपूर्वक निरन्तरता दिन प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन्।

पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शिक्षकहरूले पटक–पटक वार्ता र सम्झौता गर्दा पनि धोका पाएको उल्लेख गर्दै यसपटक आन्दोलनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।

“शिक्षक साथीहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु,” उनले भने, “पटक–पटक सम्झौता भयो, धोका भयो। अब यो पटक त्यो अवस्था दोहोरिन दिनुहुन्न।” प्रचण्डले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारको गैरजिम्मेवारीपनको प्रमाणसमेत बताए।

उनले भने, “शिक्षामन्त्री भट्टराईको राजीनामा पनि सरकारको गैरजिम्मेवारीपनको नयाँ प्रमाण हो। यो सरकार अब आफ्नै बोझ थाम्न सक्ने अवस्थामा छैन।”

प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकहरूको मागप्रति नकारात्मक भएको आरोप लगाउँदै प्रचण्डले भने, “शिक्षकहरूले सरकारसँग गरेका माग कुनै नयाँ होइन। पहिल्यै गरिएका सम्झौता कार्यान्वयनको माग मात्र हो। तर, प्रधानमन्त्रीको नकारात्मक दृष्टिकोणले समस्या थपिएको छ।”