प्रतिगमनको जरा यथास्थितीवाद परास्त गर्नुपर्ने : नेता श्रेष्ठ

प्रतिगमनको जरा यथास्थितीवाद परास्त गर्नुपर्ने : नेता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई उक्साउने यथास्थितीवादलाई परास्त गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यथास्थितीवादकै कारण प्रतिगमनकारी शक्तिहरू सक्रिय बनेको बताउँदै त्यसका विरुद्ध संघर्ष अपरिहार्य भएको तर्क गरे।

श्रेष्ठले सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको मुख्य स्रोतकै रूपमा यथास्थितीवाद रहेको उल्लेख गर्दै सरकार नै यसको वाहक बनेको आरोप लगाए। उनले वामपन्थी दलहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताउँदै समाजवादउन्मुख समृद्धिको मार्ग तय गर्न सडक, सदन र सरकारको मोर्चालाई संयोजन गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

संविधानको कार्यान्वयन र सामाजिक–आर्थिक रुपान्तरणलाई आन्दोलनको मूल कार्यदिशा बनाउनुपर्नेमा पनि श्रेष्ठले जोड दिए।