रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

काठमाडौं । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।

मंगलबार उक्त इजलासमा सुनुवाइ हुने तय भएको हो। यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रिट परेको भए पनि उनले हेर्न नमिल्ने सूचीमा राखेका थिए। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा राख्ने आदेश दिएको थियो। सो आदेश बदरको माग गर्दै रिट दायर गरिएको हो।

सुप्रिम सहकारी प्रकरणमा संगठित अपराध र ठगी मुद्दामा थुनामा रहेका लामिछानेलाई यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतले त्यसलाई उल्ट्याउँदै उनलाई चैत २२ गते थुनामा राख्न आदेश दिएको थियो।