

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बिहान बस्दैछ।
बैठक आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा व्यवस्थापनबारे निर्णय गर्न बोलाइएको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार शिक्षकहरूको आन्दोलनले परीक्षा सञ्चालनमा बाधा पुगेकाले वैकल्पिक उपायबारे छलफल हुनेछ।
शिक्षक महासंघले शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलन चर्काइरहेका छन् र कक्षा १२ को परीक्षा नलिने निर्णय गरिसकेका छन्। यस्तै परिस्थितिमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन्, जसले थप अन्योल सिर्जना गरेको छ।