

काठमाडौं। विश्वभरका क्याथोलिक धर्मावलम्बीका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ। कार्डिनल केविन फेरेलले भ्याटिकनस्थित कासा सान्ता मार्टा निवासमा पोपको निधन भएको पुष्टि गरेका हुन्।
बीबीसीका अनुसार फेरेलले पोप फ्रान्सिसले स्थानीय समयअनुसार बिहान ७ः३५ बजे अन्तिम सास फेरेको बताएका छन्। “फ्रान्सिसको जीवन प्रभु र चर्चको सेवामा समर्पित रह्यो,” फेरेलले भनेका छन्।
पोप फ्रान्सिस मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त थिए। उनी लामो समय अस्पतालमा उपचारपछि केही समयअघि मात्र घर फर्किएका थिए।
सन् २०१३ मा पोप नियुक्त भएका फ्रान्सिस जेसुइट पादरीका रूपमा चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति थिए। साथै, उनी अमेरिका महादेश तथा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप पनि हुन्।
अर्जेन्टिनामा जन्मिएका फ्रान्सिसको वास्तविक नाम जोर्ज मारियो बेर्गोग्लियो हो। पोप बन्नुअघि उनी बुएनोस आयर्सका आर्चबिशपका रूपमा सेवा गरिरहेका थिए। परम्परावादी क्याथोलिकहरूमाझ समेत लोकप्रिय रहेका उनले धर्म, करुणा र सामाजिक न्यायका सवालमा महत्वपूर्ण भूमिका खेलेका थिए।