लुम्बिनी प्रदेशमा कुपोषण र बाल–मातृ मृत्युदर नियन्त्रणका लागि सबै पक्ष जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

लुम्बिनी प्रदेशमा कुपोषण र बाल–मातृ मृत्युदर नियन्त्रणका लागि सबै पक्ष जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषण, बाल मृत्युदर र मातृ मृत्युदरको भयावह अवस्था समाधान गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

सोमबार दाङको लमहीमा आयोजित “स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच” विषयक खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वास्थ्य, सामाजिक विकास र कृषि मन्त्रालयबीच समन्वयमा योजना बनाएर काम गर्नुपर्ने बताए।

विद्यालय तहबाटै पोषणबारे सचेतना फैलाउनुपर्ने धारणा राख्दै उनले समस्याग्रस्त पालिकाहरूको पहिचान गरी लक्षित रूपमा काम गर्ने वातावरण बनाइने बताए।

लुम्बिनी प्रदेश योजना आयोगका अनुसार हाल प्रदेशमा २५ प्रतिशत पुड्कोपना, १६ प्रतिशत ख्याउटेपन, २३ प्रतिशत कम तौल र ४९ प्रतिशतमा रक्तअल्पता देखिएको छ।

कार्यक्रममा सहभागीहरूले समुदाय तहसम्म पुगेर पोषणबारे सचेतना फैलाउन र राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए।