

सुर्खेत । कालीकोटको पलाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
पलाँता–९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न र खुद्रा सामान बोकेर जाँदै गरेको ट्याक्टर गएराति पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक मुगु खत्याड गाउँपालिका–५ का २५ वर्षीय चन्द्र प्रकाश रोकाया, पलाँता–४ का २१ वर्षीय रवीन्द्र विक, ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षीया अम्बा शाही छन्।
प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ट्याक्टर सडकबाट तल अप्ठ्यारो भिरमा अड्किएको छ भने शवहरू करिब २०० मिटर तल भेटिएका थिए।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा टोली घटनास्थलमा राति नै पुगेको थियो। तर, अप्ठ्यारो भिरका कारण दुर्घटनाग्रस्त ट्याक्टरसम्म पुग्न नसकिएकाले गाडीको नम्बर खुल्न सकेको छैन।