गभर्नर नियुक्ति विरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा

गभर्नर नियुक्ति विरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौँ । गभर्नर नियुक्तिको तयारीविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा आज पनि हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रहेको उक्त मुद्दा आइतबारको सूचीमा परे पनि सुनुवाइ हुन सकेन। सरकारले डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारी गरिरहेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार पूरक रिट दायर गरेका थिए। रिटमा गभर्नर नियुक्ति प्रक्रिया रोक्न ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरिएको थियो।

यसअघि उनीहरूले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय (राष्ट्र बैंकसमेत) का पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३’ मा गरिएको दोस्रो संशोधन खारेज गर्न पनि छुट्टै रिट दायर गरेका थिए। उक्त संशोधनले ६५ वर्ष नाघेका व्यक्तिलाई पनि नियुक्त गर्न मिल्ने व्यवस्था गरेको थियो।