

काठमाडौं । जारी शैक्षिक आम हड्ताललाई प्रभावकारी बनाउन शिक्षक महासंघले निजी विद्यालयहरूलाई समेत बन्द गर्न आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले सबै संस्थागत विद्यालयलाई आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यालय नचलाउन अनुरोध गरेको हो।
‘शैक्षिक आम हड्तालको अभियानलाई सफल बनाइ दिन संस्थागत विद्यालयहरू पनि बन्द गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ। महासंघले देशभरका सबै विद्यालय पूर्णरूपमा बन्द गरी आन्दोलनमा सहभागी हुन शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौं आउन आह्वान गरेको छ।
यस अवधिमा विद्यालय सञ्चालन, प्रवेश तथा ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि गतिविधिमा संलग्न नहुन महासंघले निर्देशन दिएको छ। साथै, कक्षा १२ को परीक्षामा पनि सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरिएको छ।
