काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग जारी युद्धमा ईस्टर पर्वको अवसर पारेर छोटो अवधिको युद्धविराम घोषणा गरेका छन्। क्रेमलिनबाट सम्बोधन गर्दै पुटिनले शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म, कुल ३० घण्टाका लागि सबै प्रकारका सैन्य गतिविधि रोक्ने बताएका हुन्।
पुटिनले ईस्टरलाई शान्तिको सन्देश दिने पर्वका रूपमा व्याख्या गर्दै युक्रेन पनि युद्धविरामको पालना गर्ने आशा व्यक्त गरे। उनले भने, “युक्रेनले पनि हाम्रो उदाहरण पछ्याउनेमा हामी आशावादी छौं, यसले उनीहरूको शान्ति प्रतिको संवेदनशीलता देखाउनेछ।”
तर युक्रेनी पक्षले पुटिनको घोषणामा शंका व्यक्त गर्दै रूसी सेनाले युद्धविरामको घोषणा पछिल्लो केही घण्टामै आक्रमण जारी राखेको आरोप लगाएको छ। युक्रेनी सेनाका कमाण्डर इन चिफले फ्रन्टलाइनमा रूसी तोपखाना र बमबारीका गतिविधिहरू चलिरहेको जनाएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पुटिनको घोषणालाई ‘हेडलाइन बनाउन खोजिएको सस्तो प्रयास’ भन्दै टिप्पणी गरे। “३० घण्टा समाचारका लागि पर्याप्त होला, तर शान्तिका लागि होइन,” उनले भने। जेलेन्स्कीले इस्टरकै अवसर पारेर अमेरिका प्रस्तावित ३० दिनको युद्धविराममा सहमत हुने इच्छा पनि पुनः व्यक्त गरेका छन्।
अर्कोतर्फ, पुटिनले युक्रेनलाई नेटोमा आबद्ध नगरिने, सेना सिमित गरिने र रूसले कब्जा गरिसकेको युक्रेनी भूमि आफ्नो हुने माग राख्दै आएका छन्। यसैबीच, अमेरिकाले रूसले युद्धविराममा गम्भीरता नदेखाए शान्ति प्रयासबाट पछि हट्ने चेतावनी दिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले रूसले केही दिनमै सकारात्मक प्रतिक्रिया नजनाए कडा प्रतिबन्ध लगाइने बताएका छन्। युरोपेली मुलुकहरू पनि रूसमाथि दबाब बढाउने र युक्रेनलाई थप समर्थन गर्ने रणनीतिमा जुटेका छन्।