काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीका प्रमुख स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थित देखिएको छ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनहरू भन्दा आज सुरक्षाकर्मीको संख्या उल्लेखनीय रूपमा बढाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा रणनीति तयार पारिएको जानकारी दिएका छन्। उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास भइरहे पनि निषेधित क्षेत्र तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी गरिएको छ। ‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउने हाम्रो प्रयास हो,’ एआईजी तामाङले भने, ‘तर निषेधित क्षेत्र तोड्ने कोसिस भएमा आवश्यक बल प्रयोग गरिनेछ।’
प्रदर्शनलाई नियन्त्रणमा राख्न राजधानीका संवेदनशील स्थानहरूमा सुरक्षा सतर्कता अझै कडा पारिएको छ।