

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि गृह मन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेधित क्षेत्र उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको हो।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने, अराजकता फैलाउने र सामाजिक शान्ति भंग गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट उल्लेख छ।
“कुनै पनि उत्तेजक, अराजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिन्छ,” विज्ञप्तिमा भनिएको छ, “उल्लंघन गर्ने जोसुकै भए पनि कानुनी कारबाही हुनेछ।”
गृह मन्त्रालयले शान्ति, सुरक्षा र कानुनी व्यवस्थालाई कायम राख्न सबै पक्षबाट जिम्मेवार भूमिका निर्वाह गरिनुपर्नेमा जोड दिएको छ।