

काठमाडौं । सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू-१९ विश्वकपको टिकेट सुनिश्चित गर्न नेपाल र अफगानिस्तान आज एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आमनेसामने हुँदैछन्। खेल बिहान ९:३० बजे तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।
यसअघि दुवै टोलीले आफ्ना तीनै खेल जितेका छन्। नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको छ। अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेटले तथा यूएईलाई १८० रनले पराजित गर्दै नेट रनरेटमा अग्रता बनाएको छ।
नेपाललाई विश्वकपमा स्थान बनाउने एक मात्र बाटो आजको खेल जित्नु हो। यदि वर्षाका कारण खेल अवरुद्ध भयो वा रद्द भयो भने अफगानिस्तानले नेट रनरेटको आधारमा छनोट हुनेछ।
नेपालले अघिल्लो ८ पटक यू-१९ विश्वकप खेलिसकेको छ। आजको खेलमा नेपाल नवौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रनेछ।