

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले देशका कानून मान्नुपर्ने बताउँदै दर्ता प्रक्रिया पूरा नगर्नेहरूमाथि कारबाहीको विकल्प नरहने बताए।
सरकारले सामाजिक सञ्जाल दर्ताका लागि थप गरेको एक महिनाको अवधि सकिन केही दिन बाँकी रहँदा उनले फेसबुकलगायतका प्लेटफर्महरूले अझै दर्ता प्रक्रिया नगरेको उल्लेख गरे। उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन नियमनका लागि ल्याइएको भन्दै यसको उद्देश्य कुनै सञ्चारमाध्यम बन्द गर्नु नरहेको स्पष्ट पारे।
त्यस्तै, मन्त्री गुरुङले चैत १५ गते काठमाडौँमा राजावादी समूहले आयोजना गरेको आन्दोलनलाई प्रतिगामी र संविधानविपरीतको आन्दोलन भन्दै त्यसमा संलग्नहरूमाथि कारबाही हुने बताए। उनले राजतन्त्रको अब कुनै गुञ्जायस नरहेको दाबी गरे।
उनका अनुसार प्रविधिको दुरुपयोग गरी मुलुक, राजनीतिक दल तथा जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकारले त्यसलाई नियन्त्रण गर्न गम्भीर प्रयास गरिरहेको छ।
कार्यक्रममा पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई सञ्चारिका अग्रणी सम्मान प्रदान गरिएको थियो। त्यस्तै, सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई र स्व. उमासिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको थियो।