गभर्नर नियुक्ति प्रक्रिया रोक्न माग गर्दै डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा रिट

गभर्नर नियुक्ति प्रक्रिया रोक्न माग गर्दै डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्ट गभर्नर पदका लागि योग्य नभएको दाबी गर्दै शुक्रबार रिट निवेदन दर्ता गराएका हुन्।

उनीहरूले राजनीतिक सहमतिका नाममा कानुनी प्रक्रिया उल्लंघन गरी गभर्नर नियुक्ति गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। सर्वोच्च प्रशासनले आइतबार सुनुवाइका लागि पुरक निवेदन स्वीकृत गरिसकेको बताइएको छ। भट्टले शुक्रबारमात्र कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि त्यो स्वीकृत भइसकेको छैन।

यसअघि पनि ती अधिवक्ताहरूको रिटमा सर्वोच्चले ६५ वर्ष पार गरेका व्यक्तिलाई नियुक्ति प्रक्रियामा समावेश नगर्न अन्तरिम आदेश दिएको थियो। अधिवक्ता अनन्तराज लुईंटेलका अनुसार पुरक रिट पनि आइतबारकै पेसीमा पहिलो रिटसँगै पेश गरिनेछ।

रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संविधानको मर्मविपरीत नेताहरूको भागबण्डा अनुसार गभर्नर नियुक्ति गर्न खोजिएको भन्दै कानुनी प्रक्रिया उल्लंघन भएको आरोप लगाइएको छ। योग्य उम्मेदवार सिफारिस समितिबाट छनोट हुनुपर्नेमा राजनीतिक हस्तक्षेपमार्फत नियुक्ति गर्न खोजिएको भन्दै रिटमार्फत न्यायिक हस्तक्षेपको माग गरिएको छ।