

काठमाडौं : विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई मर्यादित र संयमित बनाइ राख्न शिक्षकहरूलाई आग्रह गरेका छन्।
सुवेदीले सामाजिक सञ्जालमार्फत शिक्षकहरूको आन्दोलन विजयोन्मुख रहेको उल्लेख गर्दै उग्रता र भड्काउ व्यवहारबाट टाढा रहन सुझाव दिएका हुन्। “आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ,” उनले लेखेका छन्।
शिक्षकहरू १७ दिनदेखि सडकमा छन् भने राजधानीमा हुने दैनिक प्रदर्शनका कारण यातायात सेवामा असर परेको छ। वैशाख ४ गतेको प्रदर्शनको क्रममा केही शिक्षक र प्रहरीबीच भनाभन समेत भएको थियो।
सुवेदीले आन्दोलनमा षड्यन्त्र गर्ने तत्वहरू सक्रिय हुनसक्ने चेतावनी दिंदै “त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन” भन्दै सचेत रहन आह्वान गरेका छन्।
उनले आन्दोलनको सुरुवात माइतीघरबाट गर्न र आन्दोलन अवधिभर सडकमा अनुशासित ढंगले उपस्थित हुन पनि आग्रह गरेका छन्। “पेटी नाघेर वारपार नगरौँ, आन्दोलन अवधिभर सडकमै रहौँ,” सुवेदीले लेखेका छन्।
उनले आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा पनि ध्यान दिन शिक्षकहरूलाई आग्रह गरेका छन्। “अरू केही दिन धैर्य र मर्यादित भएर प्रदर्शन गरे उपलब्धि हासिल हुन्छ,” सुवेदीको विश्वास छ।
शिक्षकहरूको प्रदर्शन आज वैशाख ५ गते १७औँ दिन पनि जारी रहेको छ।