

काठमाडौं : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि लक्षित गर्दै बिहीबार राति गोली प्रहार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीका अनुसार राति साढे ११ बजे मायादेवी गाउँपालिका–१ स्थित अध्यक्ष चौधरीको घरको परिसरमै गोली प्रहार भएको हो।
शुद्धोधनको अध्यक्ष भए पनि चौधरी मायादेवीस्थित घरमा बस्दै आएका छन्। डीएसपी अधिकारीका अनुसार शौचालय गएर फर्किने क्रममा उनको घरको गेटबाहिरबाट अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।
अध्यक्ष चौधरी सकुशल छन् भने घटनास्थलबाट पेस्तोलमा प्रयोग हुने गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी थालिएको अधिकारीले जानकारी दिएका छन्।