

बंगलादेश, २३ भदाै । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे हुनेछ । अाजकाे खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ ।
समूह ‘ए’ मा रहेको नेपालको लागि बंगलादेशविरुद्धको खेल ‘गर या मर’ को अवस्था हुनेछ ।आजको खेलमा नेपालले कम्तिमा जित निकाल्न सके अर्को चरणमा प्रवेश गर्ने छ । तर त्यसअघि पाकिस्तान र भुटानको खेलको नतिजाले पनि प्रभाव पार्ने छ । पाकिस्तानले भुटानलाई पराजित गरेमा नेपाललाई जित्नै पर्ने दबाब हुँदा बंगलादेशले बराबरी गरे मात्रै पुग्ने छ ।
समूह चरणको दुई खेलबाट नेपाल र पाकिस्तानले ३–३ अंक जोडेका छन् भने बंगलादेशले २ खेलमै जित निकाल्दै ६ अंक जोडि सकेको छ । नेपालको लागि बंगलादेशसंगको खेलसंगै आजै हुने पाकिस्तान र भुटानबीचको खेल पनि महत्वपूर्ण हुनेछ । पाकिस्तान र भुटानले अपरान्ह पाउने ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।
यदी भुटानको पक्षमा नतिजा आए नेपाललाई सहज हुनेछ । पाकिस्तानले जिते वा बराबरी भए नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने हुन्छ सेमिफाइनलकाे यात्राका लागि । नेपाल र बंगलादेश अहिले सम्म १८ पटक अामनेसामने भएका छन् । जसमा नेपालले ५ पटक मात्रै जित निकाल्न सकेको छ भने १ खेल बराबरी भएको छ ।